Logo

बंगलादेशमा हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा रुसले पनि खेल्ने

रुसको महिला युवा टोलीले बंगलादेशमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गर्दै रुसको सहभागिता हुने पुष्टी गरेको छ ।
युक्रेनमाथि गरेको आक्रमणका कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र युरोपेली फुटबल महासंघ यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएको छ । जसका कारण रुस र रुसी क्लबले पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छन् ।

प्रतिबन्ध छल्नकै लागि रुसको फुटबल संघका अध्यक्षले यूईएफएको सदस्यता त्यागेर एसियाली फुटबल महासंघ एएफसीको सदस्यता लिने प्रस्ताव गरेका छन् । यस्तो स्थितिमा एएफसीमातहतकै दक्षिण एसियाली फुटबल महासंघ साफले यू-१७ महिला च्याम्पियनसिपमा रुसलाई सहभागी गराएको हो । यूईएफए असिस्ट साफ यू-१७ महिला च्याम्पियनसिप नाम दिइएको यो प्रतियोगिता आगामी मार्च २० देखि २८ सम्म बंगलादेशमा आयोजना ढाकामा हुँदैछ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल भारत बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । साफले सार्वजनिक गरेको तालिका अनुसार च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ र लिगपछि धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।

नेपालले पहिलो खेल मार्च २० मा भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसँग मार्च २२ मा, तेस्रो खेल रुससँग मार्च २६ अर्थात १२ मा हुने छ । नेपालले अन्तिम खेलमा बंगलादेशसँग मार्च २८ मा खेल्नेछ । च्याम्पियनसिपको सबै खेल ढाकाको बीएसएस मोस्ताफा कमल स्टेडियम हुनेछ । च्याम्पियनसिपको लागि नेपालले तयारी सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका छिन् ।

भगवतीकै प्रशिक्षणमा नेपालले गत नोभेम्बरमा बंगलादेशमै भएको साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । यू-१५ लाई यसपटक यू-१७ को नामबाट खेलाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्