Logo

‘समाजवाद उन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन’ : पुष्पकमल दाहाल

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन्।

पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज यहाँ आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताए। प्रधानमन्त्री दाहालले भने, ‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीति, अर्थनीति, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौं। सोही छलफलको जगमा अवको राज्य समाजवाद उन्मुख हुनेछ भनिएको हो।

‘समाजवाद उन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो। तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ।’ संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको उल्लेख गर्दै उनले सार्वजनिक निजी, साझेदारी र सहकारीलाईसँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। ठूलो सङ्घर्ष र बलिदानको जगबाट प्राप्त भएको सो उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री दाहालले भने, ‘‘संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ। संविधानमा जे–जति मौलिक हकको व्यवस्था गरिएको छ, त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ।’ सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुननसक्ने भएकाले कृषिमा आधारित उत्पादन सहकारीको निर्माण, परिचालन, बजारीकरण आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्