माग सम्बोधन नभई फोहोर नउठाउने बालेनको स्पष्टोक्ति
काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारसमक्ष आफूले पटकपटक छलफल गरेर पनि कार्यान्वयन हुन नसकेको समस्याहरूलाई १४ बुँदामा प्रस्तुत गदै त्यसको सुनुवाइ नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पारेका छन् ।
सोमबार मेयर साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गरेको अनौपचारिक कुराकानीमा १४ बुँदे मागको सम्बोधन नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने अडान लिएका हुन् ।
मेयर साहका पूर्वाधारविज्ञ सुनिल लम्सालले गृहमन्त्री श्रेष्ठसंग भएको अनौपचारिक कुराकानीमा कामपाले आफ्नो अडान दोहो¥याएको जानकारी दिए । उनले भने – ‘माग पुरा नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबाबाट फोहोर उठ्दैन । मेयर साहले १४ बँुदामा दिएको जवाफ सरकारको लागि काफी छ ।’
तीन दिनदेखि सिंहदरबारको फोहोर संकलन र ढुवानी हुन नसक्दा मुख्य सचिवको कार्यालयलगायत सिंहदरबार परिसर दुर्गन्धित हुन थालेको छ । फोहोर नउठाएपछि केन्द्रीय सरकार सञ्चालन गर्ने निकाय वरपर थुप्रिएको फोहोर गन्हाएर नाक थुनेर हिडुनुपर्ने अवस्था आएको छ ।
सोमबार फोहोर उठाउने विषयमा विभिन्न निकायसँग अनौपचारिक कुराकानी भए पनि कुनै निष्कर्षमा पुग्न सकेन । आइतबार फोहोर संकलन र ढुवानी गर्ने निकाय परिवर्तन नेपाललाई गृह मन्त्रालय, सिँहदरबारस्थित प्रहरी वृतले फोहोर संकलन गर्न दबाब दिएको थियो । सोमबार मेयर साहले सरकारले महानगरप्रति गरेको व्यवहार खुलाउँदै १४ बुँदे भनाइ जारी गरेपछि भने फोहोर संकलन र ढुवानी गर्न दबाब दिएको छैन ।
यसैबीच कामपाका प्रवक्ता नवीन मानन्धरले वार्ताबाट समस्या समाधान नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने स्पष्ट पार्दै भने –‘अहिलेसम्म सरकारले वार्ता गर्न बोलाएको छैन, हामीले पनि कुनै निकायलाई फोहोर संकलन र ढुवानी गर्नु भनेका छैनौ ।’
सिंहदरबारलगायतको विशिष्ट क्षेत्रका फोहोर नउठाउने भनेर महानगरले लिएको अडानको पक्ष र विपक्षमा बहस जारी रहेको बेला मेयर साहले हिजो सोमबार बाध्य भएर १४ बुँदे धारणा सार्वजनिक गरेका थिए ।