Logo

संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना भएको छ – प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर (हेर्नुहोस भिडियो सहित )

काठमाडौं, नेपाल प्रहरी कार्ययोजना-२०८०, चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरूका साथै समसामयिक विषयमा केन्द्रित रहँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्नु भएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले तालुक गृहमन्त्रालयबाट प्राप्त निर्देशन अनुरूप संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना भएको उल्लेख गर्नुभयो । प्रहरी संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्न सञ्चारकर्मीहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै जाने विषयमा प्रहरी महानिरीक्षकले विशेष: जोड दिनुभएको छ ।

सञ्चारकर्मीहरू माझ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले चालू आर्थिक वर्षको गत तीन महिनाको उल्लेख्य प्रगति विवरणहरु प्रस्तुत गर्दै सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासाहरूको निरूपण समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले नेपाल प्रहरी कार्ययोजना-२०८० को संक्षिप्त प्रस्तुतीकरण गर्दै बेन्चमार्क गतिविधिहरूका बारेमा जानकारी दिनुभएको थियो ।

नेपाल प्रहरीले गर्दै आईरहेको कार्यलाई योजनावद्ध एवं व्यवस्थित ढङ्गले सम्पादन गर्न आगामी दुई आर्थिक वर्षका लागि तयार गरिएको नेपाल प्रहरी कार्ययोजना-२०८० आगामी साउन १ गतेबाट विधिवत रूपमा कार्यान्वयनको चरणमा जानेछ ।

प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको साथै विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्