Logo

सिरानीमुनी चिठी छाडेर बेपत्ता भएका दाजुभाइ एक दिन नबित्दै भेटिए

झापा- सामाजिक सञ्चालका कारण झापामा हराएका बालकहरु १ दिन बित्न नपाउँदै भेटिएका छन् । झापाको गौरादह नगरपालिका १ बेलडागिचौकका भुपेन खड्काका छोराहरु १४ वर्षका खगेन्द्र खड्का र देब खड्का मंगलबार बिहान १० बजेदेखि बेपत्ता भएका थिए ।

उनीहरु बुधबार बिहान करिब दुई बजे मोरङको पथरि शनिश्चरेस्थित एक घरमा आश्रय लिएर बसिरहेको अवस्थामा फेला परेका छन् ।
गौरादह १ सितापुरीको मोति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत खड्का दाजुभाइ सिरानीमा चिठी छाडेर बेपत्ता भएका थिए ।

आफुहरु खुसी रहने, बुबा आमा र दिदीलाई धेरै सम्झने भन्दै उनीहरुले चिठी छाडेका छन् । परिवारले खोजी गरेमा झन् भाग्ने उनीहरुले चिठीमा लेखेका थिए । ठुलो भएपछि मात्र घर फर्कने उनीहरुले सिरानीमुनी छाडेको चिठीमा लेखेका थिए ।

बालकहरुले सिरानीमुनी छाडेको चिठीमा लेखेका थिए, ‘ड्याडी अब हामी गको । अब हामीलाई नखोज्नु ।हामी जहाँ गएपनि खुसी हुनेछौँ। हामी तपाइँकै यादमा बस्नेछौँ ड्याडी । हामी गौरीगञ्जतिर गएका छौँ । हामी ममी र दिदीलाई पनि सम्झनेछौँ । हामी ठुलो भएपछि आउनेछौँ। अब हामी गयौँ ड्याडी, हामीलाई नखोज्नु है । हामी खुसी रहनेछौँ । तपाईले हामीलाई जति खोज्नुहुन्छ हामी त्यती भाग्नेछौँ । त्यही भएर हामीलाई नखोज्नुहोला । ’

सामाजिक सञ्जालमा बालकहरुको फोटो र उनीहरुले छाडेको चिठीसहित हालेको पोष्टका कारण हराएका ती बालकहरु भेटिएका अन् । उनीहरु आश्रय लिएर बसेको घरनजिकैका छिमेकीले सामाजिक सञ्जालमा पोष्ट देखेर परिवारलाई खबर गरेका थिए । खबर पाएपछि बुधबार बिहान २ बजे बालक हराएको १७ घण्टामै गौरादह–१ का जनप्रतिनिधि जमुन राईको रोहबरमा बालकहरुलाई राती नै सकुशल घर ल्याईएको परिवारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्