प्रधानमन्त्री बालेन भारत जाँदै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्तलाई


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मङ्सिर ६ र ७ गते भारत भ्रमणमा जान लागेका हुन्। उनको अनुपस्थितिमा दैनिक प्रशासनिक तथा राज्य सञ्चालनका काम सहज बनाउन श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको हो।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत सहभागी हुने भएकाले मन्त्रिपरिषद्को वरीयताक्रमअनुसार श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ। कार्यवाहक प्रधानमन्त्री तोकिएको जानकारी राष्ट्रपति कार्यालयमा समेत पठाइसकिएको छ।

प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट तथा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार साँझ स्वदेश फर्कनेछन्।