Logo

सडक डिभिजनलाई बालेनको प्रश्नः नेपाल सडक मापदण्ड पालना गर्नलाई बनाएको हो की होइन?

काठमाडौं– सडक डिभिजनले न्युरोड क्षेत्रमा भत्काएको सडक पुनस्थापना गर्न निर्देशन दिएको दुईदिन बितेपछि बालेनले त्यसको जवाफ दिएका छन् । न्युरोड क्षेत्रको सडक काटेर फुटपाथ बढाउने काठमाडौंको योजनाको चौतर्फि विरोध भएपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ दिएका हुन् ।

सडक विभागले बनाएको नेपाल सडक मापदण्ड २०७० अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ सडक ३ फुटको चाहिने मापदण्ड छ । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्दै उनले सडक डिभिजनलाई प्रश्न गरेका छन् ।

बुधबार सडक विभागले विभागको सहमति विपरित आफ्नो क्षेत्राधिकारमा पर्ने न्युरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडकखण्डमा महानगरले सडक भत्काएको र त्यो काम सार्वजनिक सडक ऐनको बर्खिलाप रहेको भन्दै महानगरपालिकालाई चिठी लेखेको थियो । महानगरपालिकाले भत्काएको सडक दुईदिन भित्र पुनस्थापना नगरेमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रकृया अगाडी बढाउने सडक डिभिजनले चेतावनी दिएको थियो ।

यस्तै सडक काटेर फुटपाथ बढाउन लागेको विरोध गर्दै न्युरोडका स्थानीयले समेत न्युरोड बचाउ भन्दै केहिदिनअघि प्रदर्शनसमेत गरेका थिए । त्यसको जवाफमा बालेनले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गर्नेले नै ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेको बताएका छन् ।

सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ भन्दै उनले प्रश्न गरेका छन् ।
.
कुनै बदला लिने भए आफुसँग नभइ विकास रोक्ने र कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिनसमेत बालेनले आग्रह गरेका छन् । बदला लिनैपरे फुटपाथ बढाउन रोकेर बालेनको कार्यकाल सकिएपछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिन उनले अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्