Logo

सासु ससुराको राम्रो सेवा गर्ने बुहारी सम्मानित

गुल्मी – पछिल्लो समय युवाहरु रहर र बाध्यताले विदेशिएका छन् । युवाहरुमा पनि विदेशिनेको लहरमा पुरुषको सङ्ख्या धेरै छ । त्यसैले गाउँ महिला, बालबालिका र वृद्धहरुले भरिएका छन् ।

गाउँका अधिकांश छोराहरु विदेशिएको र घरमा बुहारीमात्र रहँदा अधकांश ज्येष्ठ नागरिक हेलामा परेपछि मदाने गाउँपालिका वडा नं १ अग्लुङले असल बुहारीलाई सम्मान गर्न थालेको छ ।

वडाले गत वर्षदेखि असल बुहारीलाई सम्मान गर्न थालेपछि ज्येष्ठ नागरिकले समेत राम्रो व्यवहार महसुस गर्न थालेको वडाध्यक्ष सुशिल चन्दले बताए । उनका अनुसार सासु ससुरासँग नम्र व्यवहार गर्ने र राम्रोसँग स्याहार गरिएका बुहारीलाई सम्मान गरिएको हो ।

वडाले गतवर्ष साविक अग्लुङ गाविसको प्रत्येक वडामा प्रतिनिधित्व हुनेगरि ९ जना असल बुहारीलाई सम्मान गरेको उनले बताए । ‘साविक वडाबाट एकजना भन्दा पनि सबैभन्दा राम्रो व्यवहार गर्ने असल बुहारीलाई सम्मान गर्नुपर्छ भन्ने महसुस गर्यौ,’ वडाध्यक्ष चन्दले भने ।
त्यसैले यस वर्ष वडाले १० जना असल बुहारीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको उनले बताए ।

वडाभित्र बालविवाह पनि धेरै हुने भएकाले २० वर्ष उमेर पुरा गरि विवाह गर्ने दम्पत्तिलाई पनि वडाले सम्मान गरेको छ । चालु आर्थिक वर्षबाट उमेर पुगेर मात्र विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले ३ जना नवविवाहित दम्पत्तिलाई सम्मान गरिएको वडाध्यक्ष चन्दले बताए ।

वडाभित्र रहेका दुईवटा माध्यमिक विद्यालयमध्ये एसइई, कक्षा ८ र कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई नगर पुरस्कारसहित सम्मान गर्दै आएको उनले बताए । एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई १० हजार रुपियाँ, कक्षा ८ मा उत्कृष्ट हुनेलाई पाँच हजार रुपियाँ र कक्षा पाँचमा उत्कृष्ट हुने विद्यार्थीलाई तीन हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको वडाध्यक्ष चन्दले बताए ।

त्यस्तै, वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सङ्घ संस्थालाई समेत सम्मान गर्दै आएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्