Logo

ललितपुर महानगरपालिकाले घर घरमा नगर प्रहरी पठाउँदै

ललितपुर– ललितपुर महानगरपालिकामा ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान सुरु भएको छ । जनताको समस्या र गुनासो सुन्न स्थानीयवासीको घर घरमै नगरप्रहरी पठाउने उद्देश्यले सो अभियान सुरु भएको हो ।

यसका लागि महानगरपालिकाले ५० जना नगर प्रहरीलाई खटाउने भएको छ ।
बिहिबार बिहान अभियानको उद्घाटन गर्दै मेयर चिरिबाबु महर्जनले नगरप्रहरी २४ सै घन्टा नगरवासीको सेवामा समर्पित रहेको बताए । नगर प्रहरी र नगरपालिकाको सेवा व्यापक बनाउन घरघरमा नगर प्रहरी पठाउन लागेको उनले बताए । उनले भने, ‘यो अभियानले स्थानीवासीसंग नगरपालिकाबीचको दुरी कम गर्ने छ, हामीलाई स्थानीयको समस्या थाहा हुनेछ ।’

नगरवासीका समस्या पहिचान गर्न, नगर प्रहरी र सुरक्षाको अनुभूति गराउन, जनताले कर तिरे नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न यस अभियानले मद्दत पुर्‍याउने उनले जानकारी दिए।

घरघरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता मेयर महर्जनलाई जानकारी गराउने छ । यस अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिनेछन् । पाँच/पाँच जनाको समुह बनाएर घरघरमा नगर प्रहरी पठाइने छ । दैनिक तीन हजारभन्दा बढी घरमा नगरप्रहरी पुग्ने अनुमान गरिएको छ ।

नगरप्रहरीले नगरपालिकाका सेवाहरु नगरवासीले लिए नलिएको बुझ्ने छ भने निशुल्क दमकल , ढल निकास, शव वाहन, फुटपाथ लगायत सेवाबारे जानकारी गराउने छ । घर घरमा नगरप्रहरी अभियान १ महिनासम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्