Logo

नक्सालको ढुंगेधारा पुनरुत्थान: ढुंगेधारा थुन्नेलाई काठमाडौं महानगरले तिरायो २ लाख जरिवाना

काठमाडौं– नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या महानगरले पहिचान गरेको थियो ।

वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको काम चानचुने होइन । यसबाट ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुने उनको भनाइ छ ।

पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको भेटिएको थियो । ‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ,’ प्रमुखका सचिवालय सदस्य विनय शाक्यले भने । निकास खोलिएकाले अब मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने उनको भनाइ छ ।

धाराको निकास रोकिएको विषय पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुको विवरण’ मा उल्लेख गरिएको छ । यसमा भौतिक अवस्था उल्लेख गर्दै, ‘गाहिटि भएकोले बेला बेलामा निकास बन्द भइ पानी जम्ने गर्दछ । ढुङ्गेधाराको पानीको मुहान सुकेको छ ।’ यस्तै सुझाव दिँदै, ‘समय समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने’ भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्