Logo

कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने युवकहरु प्रहरीको फन्दामा

काठमाडौं– सामाजिक सञ्जालमा हामी चित्र हेर्न सक्छौँ र यहि सामाजिक सञ्जालमा कहिलेकाँही मानिसको चरित्र पनि देखाउँछ । केहिदिन अघि सामाजिक सञ्जालमा मनै विथोल्ने भिडियोले सामाजिक सञ्जाल भरियो । त्यो भिडियोले मानिसको क्रुर चरित्र दर्शायो । भिडियोमा तीन चार जना केटाको हुलले एउटा सानो कुकुरको बच्चालाई चारै तीर बाट घेरा हालेका थिए । उनीहरुले सामाजिक सञ्जालमा पोष्ट गर्न भिडियो बनाउनका लागि नै चिर्पटले कुकुरलाई हान्न थाले । केही छिनमा उनीहरु कुकुरलाई मायाले सुम्सुम्याएको जस्तो गर्थे ।

ती हुलले कुकुरको बच्चालाई निदर्यी रुपमा कुटेनन् मात्र त्यसलाई जिउँदै खाल्डोमा हालिदिए र तड्पाउँदै पुरिदिए । कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गर्ने युवकहरु इलामको देउमाई नगरपालिकाको रहेको जनाइएको छ । जीतपुरको सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो । अहिले त्यो भिडियो हटाइएको छ ।

भिडियो देखेपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले मानिसमा मानवता हराएको भन्दै प्रतिक्रिया दिएका थिए । दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने मागसमेत उनीहरुले गरेका थिए ।

यसैबिच कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउसमेत गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

नेपालको कानुनले कुनैपनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । मुलुकी अपराध संहिता २०७५ ले कुनैपनि पशुप्राणीलाई क्रुरतापूर्वक हत्या गर्नु ‘अपराध’ ठहर गरेको छ । पशुलाई निदर्यी व्यवहार र क्रुरतापूर्वक हत्या हत्या गरेमा उजुरी दिन सकिन्छ । यस्ता काम गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस्