Logo

महालक्ष्मी नगरपालिका ४ द्वारा ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण

काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ ले ज्येष्ठ नागरिकलाई ब्याङ्केट वितरण गरेको छ । बिहिबार वडाले ६० जना ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरेको हो । वडाको सामाजिक शिर्षकको बजेटअन्तर्गत सामाजिक सुरक्षा भत्ता लिँदै आएका ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरेको वडाध्यक्ष अमृत खत्रीले बताए ।

उनका अनुसार वडाभित्र ६८ वर्ष माथिका ज्येष्ठ नागरिक पाँच सय जना छन् । उनीहरुलाई नजिकको पायक पर्ने स्थानमा पुगेर ब्लाङ्केट वितरण गर्दै आएको उनले जानकारी दिए । निर्वाचित भएयता ज्येष्ठ नागरिकलाई केही दिन नसकेकाले यस वर्ष बजेट छुट्याएर ब्लाङकेट वितरण गरेको उनले बताए ।

उनले अनलाइन टिभि नेपालसँग भने, ‘गर्मीको लागी फ्यानहरु दिँदा बिग्रन्छ । त्यही भएर जाडोमा काम लाग्छ भनेर न्यानो ब्लाङ्केट वितरण गरेका हौँ ।’

टोल टोलमा पुगेर ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गर्ने उनले बताए । साविक इमाडोल ७, ८, ९ बाट वडा बनेको र सबै ठाउँमा पुगेर बाँड्ने उनले बताए ।

उनले भने, ‘जो ब्लाङ्केट लिन आउन सक्नुहुन्न । उहाँहरुको विवरण तयार पारेर घरमै पुगेर वितरण गछौँ ।’
वडाध्यक्ष खत्रीका अनुसार १८ सय रुपैयाँका दरले ब्लाङ्केट खरिद गरेर वितरण गरेको थियो । ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणका लागि नौ लाख रुपैयाँ बजेट विनियोजन गरेर वडाले ब्लाङ्केट खरिद गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्