Logo

स्कुल ड्रेस नलगाएको भन्दै विद्यार्थीमाथि निलडाम हुनेगरि कुटपिट

काठमाडौं– रुकुम पश्चिममा विद्यार्थीमाथि निलडाम हुने गरी कुटपिट भएको छ । मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक नलगाएको भन्दै निल डाम हुनेगरि कुटपिट भएको कुरा बाहिर आएको छ ।

विद्यालयको पोशाक नलगाएको भन्दै विद्यालय नर्स शर्मिला खड्काले ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । चउरमा लाइन लगाएर खड्काले विद्यार्थीहरुलाई लठ्ठीले कुटेकी थिइन् । विद्यालय पोशाक नलगाएको भन्दै खड्काले विद्यार्थीहरुको शरिरमा निलडाम हुने गरी पिटेकी थिइन् ।

पिटेपछि पिटेको कुरा बाहिर आएमा विद्यालयबाट निकाल्ने धम्की विद्यार्थीहरुलाई दिइएको थियो । घटना भएको केहिदिनपछि छोराछोरीको शरिरमा घाउचोट देखेर अभिभावकले केरकार गर्दा विद्यालयमा कुटपिट भएको कुरा बाहिर आएको हो ।

विद्यालयका प्रधानाध्यापक शंकर रावलले विद्यार्थीमाथि कुटपिट भएको घटना स्वीकार्दै विद्यार्थी र अभिभावसँग समेत माफी मागेको बताए । उनले विद्यार्थीको सरसफाइ हेर्ने जिम्मा नर्स खड्कालाई दिइएकाले हात, नङको सफाइ जाँच गर्ने क्रममा आवेगमा आएर सामान्य कुटपिट भएको बताए । घटनाबारे नर्सलाई स्पष्टीकरण सोधेर माफीसमेत माग्न लगाएको उनले बताएका छन् ।

नेपालको प्रचलित कानुनअनुसार बालबालिकालाई कुनैपनि स्थानमा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने व्यवस्था छ । संविधानको धारा ३९ (बालबालिकाको हक) को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको छ ।

बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पुर्‍याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ ।

उक्त ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पुर्‍याएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्