Logo

खुट्टाले लेखेरै एसइईमा पास भए बाँकेका उमेश खत्री, लोकसेवा दिएर अधिकृत बन्ने सपना

बाँके– सफलतालाई केही कुराले रोक्न सक्दैन, यसको गतिलो उदाहरण हुन्, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ मदुवाका १८ वर्षीय उमेश खत्री ।
उनी शारीरिक रुपमा अशक्त छन् । उनको दुईवटै हात चल्दैनन् । उनले दैनिक जीवनका नित्य कर्म गर्नपनि खुट्टाको साहरा लिनुपर्छ । उनले खुट्टाको साहाराले नै किताब कापी मिलाउने, कलम समात्ने, मोबाइल र ल्यापटप चलाउने, लेख्ने गर्छन् ।
उनले खुट्टाको दुइटा औँलाको बिचमा कलम च्यापेर लेखेर एसइई दिए । गत बिहीबार भएको एसइईको नतिजामा उनी २ दशमलव ९२ जिपिएसहित उत्तीर्ण पनि भए । उनलाई परिक्षाको समयमा पनि साथ मिलेको थियो । उत्तरपुस्तिका लेख्न आधा घण्टा थप समय दिइएर र परीक्षाको बेला कक्षाकोठाको बेन्चमा बसेर लेख्न उमेशलाई अप्ठ्यारो भएपछि विद्यालयले छुट्टै टेबल र कुर्सीको व्यवस्था गरेर उनलाई विद्यालयले सहयोग गरेको थियो ।

राप्ती सोनारीको लक्ष्मी मावि मदुईबाट उनले एसइई दिएका हुन् । उक्त विद्यालयबाट उनीसँगै १०५ जना सहभागी भएका थिए । उक्त विद्यालयबाट साधारणतर्फ ५८ जना विद्यार्थीले एसइई दिएका थिए, जसमा पाँच जना उत्तीर्ण भए भने प्राविधिक धारतर्फ ४७ जना विद्यार्थीले एसइई दिएका थिए, जसमा उमेशसहित सात जना मात्र उत्तीर्ण भएका छन् ।

जन्मँदै हात र खुट्टा नचल्ने अवस्थामा जन्मिएका उमेशको पाँच छ वर्षको उमेरमा परिवारले काठमाडौँमा लगेर उपचार गरेको थियो । सोपछि उनको खुट्टा भने अलिअलि चल्ने भयो र सामान्य हिँडडुल गर्न सक्ने भयो । शारीरिक अशक्तताका कारण खुवाउने, दिशा पिसाब गराउने, कपडा लगाइदिने, नुहाई दिने लगायतका हातले गर्नुपर्ने काममा उनलाई अरुको सहायता चाहिन्छ ।
उनको शारीरिक अवस्था देखेर धेरैले दया र माया गर्छन् । तर उनी आफ्नो शारीरिक अवस्थामा निराश छैनन् । शारीरिकरूपमा अशक्त भए पनि उनको आत्मविश्वास एकदमै बलियो छ ।

आफ्नो नतिजा सोचे अनुरुप नआएपनि नतिजासँग खुसी नै छन् उमेश । खुट्टाले लेखेर राम्रो नतिजा ल्याएको भन्दै चौतर्फी प्रसंसा पाएपछि उनको आत्मविश्वास झनै बढेको छ ।

उच्च शिक्षाको लागि बाहिर राम्रो ठाउँमा गएर उनको सपना पनि नभएको होइन । तर आफ्नो हेरचाह गर्न परिवारका सदस्य पनि चाहिने भएकाले खर्च बढी लाग्छ । कुनै सहयोगी मन पाए बाहिर गएर उच्च शिक्षा लिन सकिन्छ कि भन्ने आशा उनलाई छ । तर सामान्य आर्थिक स्तर भएको उनको परिवारले उमेश र उनको हेरचाह गर्ने सदस्यको लागि दोहोरो खर्च गर्न सक्दैन । त्यसैले एसईई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उनको योजना छ । पढाइ सकेपछि भविष्यमा लोकसेवा दिएर अधिकृत बन्ने इच्छा उनको छ ।

प्रतिक्रिया दिनुहोस्