निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा: अझै भेटिएन वास्तविक अपराधि
काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन राज्यले गरेको करोडौंको लगानी बालुवामा पानी खन्याएसरी भएको छ । ०७५ सालको साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मलाको बलात्कारपछि उखु बारिमा शव भेटिएको थियो ।
साथीसँग खेल्न जान्छु भनेर घरबाट निस्किएकी पन्तको शव घरभन्दा एक किलोमिट टाढा उखुबारीमा भेटिएको थियो । तत्कालीन अवस्थामा राजनीतिक तहमासमेत ठूलै उथलपुथल ल्याउन घटनाको रुपमा चित्रण गरिएको यस घटनाका मूख्य व्यक्ति हालसम्म पनि पक्राउ पर्न सकेका छैनन् । प्रहरीले आफ्नो काम गरिरहेपनी हालसम्म नतिजा दिन नसक्दा यस घटना टुंगोमा पुग्नेमा आशंका उब्जिन थालेको छ ।
शव भेटिएपछि गरिएको मेडिकल रिपोर्टमा पन्तको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । घटनाको एक महिनापछि प्रहरीले स्थानीय एक व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक पनि गरेको थियो । मानसिक सन्तुलन ठीक नभएका दीलीपसिंह विष्टलाई निर्मलाका हत्यारा भन्दै प्रहरीले सार्वजनिक गरेको थियो । तर, घटनालाई पुष्टि हुने कुनै पनि आधार र प्रमाण जुट्न नसक्दा उनी केही दिनमै थुनामुक्त भएका थिए ।
सार्वजनिक गरिएका विष्ट वास्तविक अपराधी नभएको भन्दै स्थानीयले चर्को विरोध गरेका थिए । विष्ट पक्राउ परेपछि विरोध जनाउँदै स्थानीइ वासिन्दाले कयौं दिनसम्म सडकमा आन्दोलनसमेत गरेका थिए भने
नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो । अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कन्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टसहितका केही प्रहरी बर्खास्त भए । विभागीय कारबाहीमार्फत् बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाई पाए ।
सीआईबीले अनुसन्धानका लागि विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।