ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा ‘माग्ने बुढा’ अनुबन्धित


काठमाडौं– यतिबेला हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अभिनित ‘छक्कापञ्जा ५’ले हलमा सुखद व्यापार गरिरहेको छ । यसैक्रममा माग्नेबुढा भने नयाँ नयाँ प्रोजेक्टमा आवद्ध हुन थालेका छन् । यसैक्रममा उनले हालसम्म नाम भने नतोकिएको आगामी एक कमेडी फिल्मसँग जोडिएका छन् ।

यसका लागि माग्ने बुढाले फिल्मको निर्माण पक्षसँग लिखित सम्झौता नै गरेका छन् । ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा माग्नेबुढा शीर्षमध्येको भूमिकामा देखा पर्नेछन् ।
‘किस्मत २’ निर्देशनको ८ वर्षपछि लामिछाने निर्देशनमा फर्किन लागेका हुन् ।

यसअघि ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ निर्माण गरेका मुनाल घिमिरेले यो फिल्मलाई निर्माण गर्न लागेका हुन् । माघ–फागुनदेखि छायांकन सुरु हुने फिल्मलाई आरम्भ प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको हो । पटकथा सामीप्य तिमल्सेनाले लेखिरहेका छन् । यस फिल्ममा सामाजिक कथावस्तुका साथै कमेडी शैलीमा कथा प्रस्तुत गरिने बताइएको ।

उता माग्नेबुढा अभिनेता अनमोल केसी शीर्षभूमिका रहेको फिल्म जेरी अन टपमा अनुबन्धित छन् । सुयोग गुरुङले निर्देशन गरिरहेको उक्त फिल्मको छायाङ्कनमा उनी पछिल्लो समय व्यवस्थ रहँदै आएका छन् ।