मंसीर ७ मा नै प्रदर्शनमा ल्याउनेगरि ‘तेल भिसा’को तयारी पूरा


काठमाडौं– अभिनेता विपिन कार्की दोहोरो भूमिकामा रहेको चलचित्र ‘तेल भिसा’ प्रदर्शनको तयारी पूरा भएको छ। चलचित्रको निर्माण टिमले सोमबार पत्रकार सम्मेलन गर्दै यसअघि तय भएको मितिमा नै चलचित्र प्रदर्शनमा आउन लागेको जानकारी दिएका छन् । फिल्म मंसिर ७ गतेबाट नै प्रदर्शनमा आउने तय भएको छ ।

‘तेल भिसा’ बाट अभिनेत्री ऋचा घिमिरे लामो समयपछि पर्दामा फर्किएकी छन्। उनी चलचित्रको निर्माता समेत हुन्। फिल्मको निर्देशन ऋचाकै श्रीमान शंकर घिमिरेले गरेका छन् ।

पत्रकार सम्मेलनका क्रममा निर्देशक घिमिरेले रमाइलो हिसाबले चलचित्रको नाम ‘तेल भिसा’ राखिएको बताए । उनले छोराछोरीले आमाबुबालाई सन्तान जन्मिएपछि तेल लगाउनमात्र नभई अन्य कारणले पनि लानेगरेको बताए । उनले विदेशी भूमिमा कानून नबुझ्दा थुप्रै नेपालीले समस्या भोगिरहेको र फिल्ममार्फत वास्तविक घटनामा आधारित भएर कथा देखाइएको उनले उल्लेख गरे ।

यस्तै फिल्मका अभिनेता विपीन कार्कीले दोहोरो भूमिका गर्न गाह्रो भएको सुनाए । उनी फिल्ममा बुबा र छोराको दोहोरो भूमिकामा देखिँदैछन् ।

चलचित्रमा विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र केही विदेशी कलाकारहरूको अभिनय छ। चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन्।

चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ। चलचित्रलाई नेपाल र अमेरिकामा छायांकन गरिएको थियो।