सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘पूर्णबहादुरको सारङ्गी’, एकपछि अर्को चोरीको आरोप


काठमाडौं– सिनेमा हलहरुमा तहल्का पिटिरहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ माथी फेरि चोरीको आरोप लागेको छ । निर्देशक तथा कलाकार अजित लामिछानेले आफ्नो फिल्म ‘लाज’को थिम र केही प्लट फिल्ममा चोरिएको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत दुई वर्षअघि ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मका निर्देशक सरोज पौडेललाई आफूले ‘लाज’ को स्क्रिप्ट सुनाएको उनले बताएका छन् । फिल्म हेरेपछि आफ्नो फिल्मको थिम र केही प्लट चोरी भएको पाइएको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अस्ति बेलुका चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेरेपछि म छाङाबाट खसेझैँ भए । म छटपटिए । किनभने मैले लेखेको चलचित्र ‘लाज’को थिम र केहि प्लट चोरिएको पाए । मेरो कथा बाबु बल्ली र छोरो बुधेको कथा हो । बाउले छोराको स्कुल ड्रेस सिलाउन र छोराले सुख पावस र पढि लेखि ठुलो मान्छे बनोस् भनी मृत्यु रोजेको एउटा बाउको कठिन सङ्घर्षको कथा हो ।’

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को थिम पोस्टर सार्वजनिक भएको समयमा नै आफूलाई शंका लागेको उनले बताएका छन्, ‘ जब पहिलो पटक चलचित्र ू पुर्ण बहादुरको सारङी ू को थिम पोस्टर सार्बजनिक भएको थियो, मेरो मनमा चिसो पसेको थियो । एउटा सारङ्गी रेट्ने बाबुले आफ्नो छोरोलाई काँधमा हालेर हिँडेको थिम पोस्टर थियो त्यो । म झस्किनुको कारण के थियो भने उक्त घोषणा गरिएको फिल्मको कथा ÷ निर्देशक सरोज पौडेलको थियो । सरोज पौडेल तिनै व्यक्ति थिए जसलाई दुई वर्ष पहिले अनामनगरस्थित गोर्खा एफएमचोक छेउको एक चिया पसलमा भेट्दा मैले गर्न खोजिरहेको चलचित्र ‘लाज’को २२औं ड्राफ्ट वाला स्क्रिप्ट बेलिबिस्तार लगाउँदै मजाले सुनाएको थिए ।’

उनले ८÷१० बर्ष पहिले ‘लाज’ छोटो चलचित्रको रुपमा बजारमा आइसकेको उनले बताएका छन् । लाजको वल्र्ड प्रिमियरमा पहिलो पटक कोरियाको बुसान फिल्म फेस्टिभल मा भएको र क्यानडाको एक फिल्म फेस्टिवलमा अडियन्स चोइस अवार्ड पनि जित्न सफल भएको उनले बताएका छन् । बिश्वका १५÷२० वटा फिल्म फेस्टिवलमा उक्त सर्ट फिल्मले सहभागिता जनाईसकेको उनले बताएका छन् ।

केही समयअघि पूर्णबहादुरको सारङ्गी फिल्मको मूल कथावस्तु उपन्यासकार डा. शिवशंकर बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ को मूल कथा फिल्मसँग मिलेको बताएका थिए ।

बस्यालले फिल्म हेरिसकेपछि फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको भन्दै विभिन्न आधारसमेत दिएका थिए । उनले फिल्मका दुई मुख्य पात्र पूर्णबहादुर र कमलजस्तै ‘सङ्ग्रामपुर’ उपन्यासमा रूपमान र समीर नाम गरेका बाबुछोरा रहेको उल्लेख गरेका छन् । ‘सङ्ग्रामपुर’ मा स्त्री बिछोडको प्रसङ्ग फिल्ममा पनि भएको, उपन्यासको समीरजस्तै फिल्मको कमल पात्रपनि टप विद्यार्थी हुनु, समीरले जस्तै कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु, रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु जस्ता फिल्मको कथाका मूल प्रसङ्गहरू उपन्याससँग मिलेको लेखक बस्यालको दाबी रहेको छ ।

नेपालको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल ‘पूर्णबहादुरको सारङ्गी’ सरोज पौडेलले निर्देशन गरेका हुन् । लक्ष्मीपूजादेखि प्रदर्शनमा आएको यो फिल्मले २५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको फिल्मका वितरकले दाबी गरेका छन् । उता निर्देशक पौडेलले आफ्नो बुबाको निधन भएपछि महसुस भएको विषयलाई फिल्मको कथामा उतारेको बताउँदै आएका छन् । फिल्ममा बुबाको भूमिकामा विजय बराल र छोराको भूमिकामा प्रकाश सपूत छन् । फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शङ्कर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।