काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे सरकारले भोलि औपचारिक घोषणा गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी भ्रमणको मिति र कार्यतालिकाबारे जानकारी गराउने तयारी गरेको छ। त्यसअघि आज बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणसम्बन्धी निर्णय गर्ने सम्भावना छ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री बालेन मंसिर ६ गते भारत जाने र ७ गते स्वदेश फर्किने तयारी छ। भ्रमणको औपचारिक निर्णय भने हुन बाँकी छ।
प्रस्तावित कार्यतालिकाअनुसार प्रधानमन्त्रीले भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। मोदीसँग एक्लाएक्लै छलफल गरेपछि भारतीय उद्योगपतिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा जनकपुर–अयोध्या रेलसेवा, नेपाल प्रहरी एकेडेमी र एकीकृत जाँच चौकी उद्घाटन गर्ने कार्यक्रमसमेत प्रस्ताव गरिएको छ। छोटो भ्रमणका लागि प्रधानमन्त्री दिल्लीबाहिर नजाने गरी तयारी भइरहेको छ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित सम्बन्धित मन्त्रालयका सचिवहरू सहभागी हुने सम्भावना छ। सरकारी तथा निजी क्षेत्रका गरी करिब २४ सदस्यीय टोली बनाउने तयारी भए पनि सहभागीहरूको नाम अन्तिम टुंगो लाग्न बाँकी छ।

















प्रतिक्रिया