लक्ष्मीपुजाको दिनबाट रिलिजमा आएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । यो फिल्मले देशभरका सबैजसो हलमा हाउसफुलका साथ व्यापार गरिरहँदा एउटा नयाँ तथ्य बाहिर आएको छ ।
फिल्मको निर्माण कम्पनी सेभेन सिजले मोफसलका १९ हलले ‘फेक रिपोर्ट’ दिएको भन्दै ती हलबाट फिल्म उतार्ने निर्णय गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।
सेभेन सिजले विज्ञप्तीमा उल्लेख गरेका १९ हलमध्ये अधिकांश हल गैह्र कानुनी रुपमा चलेको पाइएको छ । चलचित्र विकास बोर्डले जारी गरेको विज्ञप्तीमा पनि अधिकांश हलले नविकरण नगरेको, इजाजतपत्र नलिएको, बक्स अफिस प्रणाली जडान नगरेको भन्दै कारवाही गर्ने उल्लेख छ ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दिनेश डीसी आएसँगै फिल्म क्षेत्रमा आशाको संचार पनि भएको छ । यस्तो अवस्थामा अध्यक्ष डीसीले कानुन विपरित संचालनमा आएका हललाई कारवाही गर्नुपर्ने चुनौती थपिएको छ ।
‘चलचित्र ऐन, रियल टाइम बक्स अफिस, फिल्म स्टूडियो’को दौडमा रहेका डीसीले तत्काल गर्नुपर्ने काम गैह्र कानुनी रुपमा चलेका हललाई कारवाही गर्नुपर्ने देखिएको छ । यस्तो अवस्थामा, सामान्य सोधपुछ र अनुगमन गरेर मात्र नपुग्ने अवस्था छ ।
स्वदेशी फिल्मको हितका लागि काम गर्ने बताउँदै आएका डीसीले यदि, गैह्र कानुनी रुपमा चलेका हलहरुलाई कारवाही गर्न सकेको खण्डमा फिल्म क्षेत्रमा उनको चर्चा पक्का हुने छ ।
यसअघि पनि यस्तो घटना नसुनिएका होइनन् । तर, विकास बोर्डले सामान्य अनुगमन गरेर छाड्ने गरेको थियो । यसपटक, डीसीले बोल्ड कदम चाल्न आवश्यक छ । के डीसीले यो बिषयमा मुटु दरिलो बनाउलान् त ?
प्रतिक्रिया