‘ह्रस्व दीर्घ’को कमाई २ करोड ग्रस, तर किन आक्रोशित नीता ?


बक्स अफिसमा फिल्म ‘ह्रस्व दीर्घ’ले सुखद कमाई जारी राखेको छ । यो फिल्मले शुक्रबार र शनिबार बक्स अफिसमा सुखद कमाई गरेको निर्माणपक्षले उल्लेख गरेको छ । फिल्मले शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षको भनाई छ । आइतबार फिल्मले बेलुकी र रात्रीकालिन शोजमा राम्रो व्यापार गरेको छ ।

६ करोडको बजेटमा निर्माण भएको यो फिल्मले लगानी सुरक्षित गर्न मात्र १४ करोडको आँकडा पार गर्नुपर्ने हुन्छ ।

नीता ढुंगानाको निर्माणमा तयार भएको फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्मलाई दर्शकको सुखद प्रतिक्रिया आएको छ । हलमा फिल्म हेरेर अधिकांश दर्शक रोएका छन् ।

फिल्ममा नेपाली तथा भारतका कलाकारहरुको अभिनय छ । फिल्मले व्यापारिक रफ्तारलाई केही साता आक्रामक रुपमा अगाडि बढाएको खण्डमा मात्र यसको लगानी सुरक्षित हुने देखिन्छ ।

फिल्मले सुखद कमाई गरिरहँदा यसकी नायिका तथा निर्मात्री नीता ढुंगाना भने आक्रोशित देखिएकी छिन् । विशेषगरि, सामाजिक संजालमा एउटा गिरोह सक्रिय रहँदै फिल्मको बारेमा नकारात्मक हल्ला फैलाएको भन्दै नीता आक्रोशित बनेकी हुन् । नीताले दर्शकले आफूलाई माया गरेको तर केही समुहले भने फिल्मलाई गिराउन लागिपरेको उल्लेख गरेकी छिन् ।