दबाबमा छन् अनमोल, तर आफ्नै नियममा बाँच्न चाहन्छन्


नायक अनमोल केसीलाई आफूले पाएको ‘मेगास्टार’को ट्याग जोगाउन ठूलै मिहिनेत गर्नुपर्ने देखिएको छ । किनकी, नेपाली फिल्मको व्यापारमा देखिएको उछालले अनमोललाई दबाबमा पारेको छ ।

अनमोलले अभिनय गरेका फिल्ममा अहिलेसम्म ‘ए मेरो हजुर ३’ले सर्वाधिक ग्रस कलेक्शन गरेको छ । यो फिल्मले साढे ८ करोड माथिको ग्रस कलेक्शन गरेको बताइएको थियो । यो बाहेक अनमोललका फिल्म ४–५ करोडमै अड्किएका छन् ।

यस्तो अवस्थामा अनमोल केसीलाई अब ब्लकबस्टर फिल्म चाहिएको छ । उनी, हाल फिल्म ‘जेरीः अन टप’को छायांकनमा व्यस्त छन् । यो फिल्ममाथि उनको ठूलो आशा भरिएको छ । यो फिल्मले बम्पर व्यापार गरेको खण्डमा उनलाई राहत हुन सक्छ ।

किनकी, यो बर्ष मात्र अनमोलको फिल्म ‘फर्की फर्की’ले ५ करोड माथिको ग्रस कलेक्शन गर्दा नयाँ नायक समिर भट्टको फिल्म ‘१२ गाउँ’ले २१ करोड, विजय बरालको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले ३५ करोड माथिको कलेक्शन गरिसकेका छन् । यसैले, अनमोलका लागि अब १० करोड भन्दा तलको व्यापार नसुहाउने देखिन्छ ।

तर, अनमोल भने आफ्नै नियममा चल्ने बताउँछन् । सामाजिक संजालमा केही तस्विर शेयर गर्दै अनमोलले ‘मेरो जीवन म आफ्नै नियममा चलाउँछु’ भन्दै लेखेका छन् ।

अनमोलले आफ्नो जीवन उनकै नियममा चलाएपनि उनलाई फिल्मी करिअरमा भने नयाँ तरिकाले सोच्नुपर्ने अवस्था आएको छ । के अनमोलको नयाँ फिल्मले एउटा लोभलाग्दो आँकडा बनाउला त ? प्रतिक्षा गरौं ।