२६ करोडको दाबी, तर कती हो ‘१२ गाउँ’को वास्तविक कलेक्शन ?



दशैंको फूलपातीबाट रिलिजमा आएको फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा धुम मच्चायो । यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार पनि गर्यो । सँगै रिलिजमा आएको ‘छक्का पन्जा ५’ जस्तो ब्रान्ड फिल्मलाई पनि यसले उछिन्यो ।

फिल्मले आक्रामक व्यापार गरेपछि यसका वितरक गोविन्द शाहीले फिल्मको व्यापार २६ करोड हारहारीमा पुगेको बताए ।

तर, यो फिल्मको वास्तविक कलेक्शन भने अर्कै छ । यो फिल्मले चलचित्र विकास बोर्डको बक्स अफिस आँकडामा १९ करोड ७५ लाख हारहारीको व्यापार गरेको आँकडा छ ।

केही हलहरु बक्स अफिसमा जडान नभएका कारण पनि यो फिल्मले ती हलहरुबाट ५० देखि १ करोड ग्रस कलेक्शन गरेको आँकलन गर्न सकिन्छ । जसअनुसार, फिल्मको व्यापार २० करोड ७५ लाखको आसपासमा रहेको देखिन्छ । तर, वितरकले भने फिल्मले करिब २६ करोड कमाएर नयाँ रेकर्ड राखेको दाबी गरे ।

विराज भट्टको निर्देशनमा तयार भएको यो फिल्ममा विराज भट्ट, उनका छोरा समीर भट्ट, मुरलीधर, न्यान्सी खड्का, सनिषा भट्टराई, दिया मास्के लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई दर्शकले निकै रुचाएपनि समीक्षकहरुबाट यसले कमजोर समीक्षा प्राप्त गरेको थियो ।