‘तेल भिसा’को ओपनिङ फितलो, आइतबारदेखि झनै कमजोर


शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘तेल भिसा’को व्यापार आजबाट कमजोर देखिएको छ । आज बिहानैदेखि दर्शकको उपस्थिती हलमा नगन्य छ । शनिबार सुखद व्यापार गरेको फिल्मले शुक्रबार पनि ठिकठाकको व्यापार गर्यो ।
फिल्मले समीक्षागत रुपमा पनि मिश्रित प्रतिक्रिया पाएको छ ।

फिल्मको कथावस्तु राम्रो भएपनि प्रस्तुति कमजोर छ । जसकाकारण, निर्देशक शंकर घिमिरेले यसपटक पनि दर्शकलाई हलमा पूर्ण रुपमा बाँधेर राख्न सकेका छैनन् । जसको असर बक्स अफिसमा पनि देखिएको छ ।

फिल्ममा विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे लगायतका कलाकारहरुको अभिनय छ । फिल्म रिलिज भइसकेपछि नायिका पूजा चन्दको कामको चौतर्फी तारिफ भइरहेको छ । नायिका ऋचा घिमिरेको अभिनयले पनि दर्शकको मन जितेको छ ।

तर, यसपटक नायक विपिन कार्की र नायिका वर्षा राउतको अभिनयले भने खासै चर्चा पाएन । यी दुइको अभिनयबाट दर्शक सन्तुष्ट हुन सकेनन् । वर्षाले फिल्ममा गरेको अभिनयले दर्शक खुशी हुन सकेका छैनन् ।
यसैले, नेपाली फिल्म क्षेत्रमा निरन्तर दर्शकको साथ मिलिरहेको समयमा ‘तेल भिसा’ भने प्रभावकारी बन्न नसकेको देखिएको छ ।