आफ्नो हजुरबुवाको शालिक राख्न नवराज आचार्यले सरस्वती माविविरुद्ध हाले मुद्दा


काठमाडौं – आफ्नो हजुरबुवा वासुदेव उपाध्यायको शालिक नहटाउन भन्दै व्यवसायी नवराज आचार्यले आफैंले पढेको सरस्वती माध्यमिक विद्यालयविरुद्ध अदालतमा मुद्दा हालेका छन् । पैसाकै बलमा आचार्यले हजुरबुवाको सालिक राखेपछि सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित सरस्वती माविले शालिक हटाउन उनलाई पत्राचार गरेको थियो ।

सरस्वती माविले विद्यालय व्यवस्थापन समितिको पत्रअनुसार तत्काल शालिक हटाउन पत्र पठाएपछि आचार्यले अदालतमा स्कुलविरुद्ध नै मुद्दा हालेका हुन् । आचार्यले विद्यालय व्यवस्थापन समितिसँग सम्झौता र स्वीकृति नलिई शालिक स्थापना गरेपछि हजरियावासी आक्रोशित भएका छन् ।

शालिक स्थापना गरिए पनि अहिलेसम्म शिलान्यास भएको छैन । शिलान्यास हुनुअघि नै सरस्वती माविले व्यक्तिको शालिक हटाउन पत्राचार गरेको छ । तर आचार्यले स्कुलको पत्रको बेवास्ता गर्दै आएका छन् । सरस्वती माविको स्थापना वा हजरियाको शैक्षिक उन्नयनमा शून्य योगदान रहेका वासुदेव उपाध्यायको शालिक जुनसुकै बेला पनि तोडफोड हुने भएपछि आचार्यले काठमाडौंमै बसेर राजनीतिक लबिङ गरेका थिए ।

उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माको निवाससम्म पुगेर शालिक नहटाइदिन भन्दै हारगुहार गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञबहादुर खड्का माओवादी पार्टीकै नेता भएकाले आचार्यले केन्द्रमार्फत दबाब दिन लगाएका थिए । सोही कारण स्कुल सञ्चालक समितिका अध्यक्ष खड्काले अहिलेसम्म शालिक हटाउने बारे ठोस निर्णय गर्न सकेका छैनन् ।

सार्वजनिक स्थानमा व्यक्तिको शालिक राख्न मौखिक सहमति भएको आचार्यले दाबी गर्दै आएका छन् । सरस्वती माविका प्रधानाध्यापक रामबहादुर राय यादवले पत्र पठाई शालिक तत्काल अन्यत्र लैजान भनेपछि आचार्यले उच्च अदालत जनकपुरमा विद्यालयविरुद्ध नै मुद्दा हालेका छन् ।

चैत २७ गते उच्च अदालतका न्यायाधीश जगदीश घिमिरेको इजलासले तत्काल शालिक नहटाउन भनी दुवै पक्षलाई वैशाख ५ गते छलफलका लागि बोलाउन आदेश दिएको छ । आदेशमा विद्यालय परिसरमा शालिक राख्नेबारे विद्यालय व्यवस्थापन समितिसँग १३ वर्षअघि भएको सम्झौतासमेत पेस गर्न भनिएको छ ।

अदालतले २०६८ जेठ ५ गते सम्झौता भएको प्रमाण बुझाउन भनेको हो । तर त्यसबेला आचार्य र विद्यालय व्यवस्थापन समितिबीच शालिक राख्नेबारे कुनै पनि लिखित सहमति नभएको विद्यालय व्यवस्थापनकै वर्तमान र पूर्वपदाधिकारीहरूको दाबी छ । आफैंले अध्ययन गरेको विद्यालयविरुद्ध त मुद्दा हाल्ने आचार्य पैसाकै बलमा कतिञ्जेल बलशाली रहिरहलान् भन्दै हजरियावासी क्रूद्ध बनेका छन् ।