किन ‘नरसिंहा अवतार’ राजको पहिलो फिल्म बन्दै छ ?


रिलिजका हिसाबले ‘नरसिंहा अवतार’ अभिनेता राज कटुवालको पाँचौ फिल्म हो । पाँचौं फिल्म भएपनि उनले यो फिल्मलाई आफ्नो रि-डेब्यू फिल्म मानिरहेको चर्चा नेपाली रजतपटमा छ । फिल्मको उच्च मेकिङ र क्यानभासका कारण यस्तो भनिएको चर्चा चलेपनि स्वयं राजको भनाइ के छ त? बिहीबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा यही प्रश्नको सामना राजले गरे ।

राजले यसको जवाफ भने बडो कुटिनीतिज्ञ तवरले दिए । ‘आफूले काम गरेको जम्मै चलचित्र राम्रो हुन्छ । हरेक कामलाई पहिलो काम भनेर लागियो भने इनर्जीका साथ काम गरिन्छ भन्ने मेरो बुझाई छ । त्यही हो’, राजले भने ।

राजले यसो भनेपनि यो फिल्मका लागि उनले विशेष मेहेनत गरेका छन्। जिम, मिक्स मार्सल आर्टको तालिम आदिमा उनले गर्नुसम्मको मेहेनत गरेको बताइन्छ । रिलिजपश्चात एक्सन फिल्मका लागि आफ्नो खोजी हुने आत्मविश्वासमा राज रहेका छन् । फिल्मको कथा र सोही अनुसार मेकिङले आफूलाई परिचय दिने उनको आशा छ ।

ट्रेलरका सटहरुले पनि राजको यो आत्मविश्वास त्यतिकै आएको होइन भन्ने संकेत दिन्छ । हमलाजस्ता नेपाली सिनेमाका अग्ला अनुहारको साथमा आउँदा पनि उनी आफ्नो स्थान पाउनेमा आशावादी रहेको बुझिएको छ । उनले यसबाट अझै बढि दर्शकमाझ आफ्नो एक्सन अवतार पुग्ने आशा बोकेका छन् ।

उनको आशा कसरी भरोसामा रुपान्तर हुनेछ भन्ने कुरा जेठ ९ गतेको रिलिजले स्पष्ट पार्नेछ । राजले कार्यक्रममा फिल्म मेहेनत परेको भएपनि गार्हि भने नभएकोसमेत बताएका थिए । ‘काम गर्न त त्यस्तो गार्हो भएन । नरसिंहा को हो ?, नरसिंहा के हो ? भन्ने थाहा पाउनका लागि जेठ ९ नै कुर्न पर्यो ।’, उनले कार्यक्रममा भने ।