‘महानायक’को कमब्याक आक्रामक देखिने संकेत, ‘नरसिंहा’को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया



विहिबार बेलुकी रिलिजमा आएको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरले आक्रामक प्रतिक्रिया पाएको छ । युट्युबमा यो ट्रेलर सार्वजनिक भएको १५ मिनेटमै ट्रेन्डिङमा आएको थियो ।

फिल्मको ट्रेलर सार्वजनिक भएको २२ घन्टामा ६ लाख बढी भ्यूज पाएको छ भने ३३ सय भन्दा बढी प्रतिक्रिया छन् । जसमा सबैजसो प्रतिक्रियामा उत्कृष्ट लेखिएको छ । लामो समयपछि राजेश हमाललाई पर्दामा हेर्न पाउँदा दर्शकहरु उत्साहित देखिएका छन् । यसले, फिल्मले बक्स अफिसमा जेठ ९ गते आक्रामक ओपनिङ गर्ने संकेत दिएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, निर शाह, सरोज खनाल, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । फिल्मबाट महानायक हमाल पनि निकै आशावादी देखिएको छन् ।