काठमाडौं । महिन्द्रा राय यादव प्रतिनिधिसभा सदस्य हुन्। उनी २०७९ को निर्वाचनमा सर्लाही २ बाट निर्वाचित भएका थिए । राजेन्द्र महतोलाई हराउँदै उनी सांसद बनेका हुन् ।
तराई मधेश क्षेत्रको स्थापित नेता यादवको अब राजनीतिक उपादेयता सकिएको भन्दै उनलाई साथ दिँदै आएका गंगानारायण श्रेष्ठ माओवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउँदै सचिव पद पनि थमाइदिए ।
गंगानारायण एक दशकपछि माओवादीमा फर्केका हुन् । संविधानसभाबाट संविधान बनेलगत्तै गंगाले बाबुराम भट्टराईसँग लागेर माओवादी छाडेका थिए । उनी बाबुरामको नयाँ शक्ति पार्टीमा थिए । बाबुराम जहाँ जहाँ गयो गंगा पनि उतै उतै गए । तर एक वर्षअघि गंगानारायणले महीन्द्र रायसँग मिलेर नेपाल समाजवादी पार्टी कब्जा गरे । महीन्द्रलाई अध्यक्ष दिएर आफू सहअध्यक्ष बने । अहिले तिनै महीन्द्रलाई छाडेर उनी माओवादी प्रवेश गरेका छन् । महीन्द्र भने हेरेको हेर्यै भएका छन् ।
आफूलाई साथ दिँदै आएका बाबुरामलाई प्रचण्डको लहैलहैमा लागेर महीन्द्रले राजनीतिक घात गरेका थिए । अहिले उनैलाई गंगानारायणले घात गरेर हिँडेका छन् । अब महीन्द्रसँग न पार्टी रह्यो, न नेता नै । नेसपाका प्रभावशाली नेताहरू सबै गंगानारायणले माओवादी प्रवेश गराएका छन् । महीन्द्र माओवादीकै चुनाव चिन्हबाट सर्लाही २ मा उठेका थिए । सोही कारण राजेन्द्र महतो पराजित बनेका थिए । तर अबको निर्वाचनसम्म महीन्द्रको शक्ति केही बाँकी नरहने देखिएको छ ।
प्रतिक्रिया