मधेशमा मुख्यमन्त्री फुत्काउँदै कांग्रेस, जनकपुर पुगेर देउवाले दिए सन्देश


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएपछि मधेश केन्द्रित राजनीतिक दलहरूमा भूकम्प गएको छ । अघिल्लो पाँच वर्षे कार्यकाल उपेन्द्र यादव नेतृत्वको जसपाका लालबाबु राउत मुख्यमन्त्री बनेका थिए । अन्य पाँचवटा प्रदेशमा मुख्यमन्त्री फेरिरहँदा मधेश र सुदूरपश्चिम प्रदेशमा भने फेरिएन ।

०७९ को निर्वाचनपछि मधेशमा जसपाकै सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भए । तर केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि प्रदेशमा पनि सरकार अदलबदल भए । जसपा नेतृत्वको सरकार डलेर सिके राउत नेतृत्वको जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बने । उनी मुख्यमन्त्री भएको एक वर्ष हुनै लागेको छ । त्यसबेलै कांग्रेस र एमालेले आलोपालो सरकार चलाउने निर्णय गरेका थिए । जसअनुसार अब जनमत पार्टीको हातबाट मुख्यमन्त्री खुस्किँदै छ भन्ने सन्देश कांग्रेस सभापति देउवाले शुक्रबार जनकपुर पुगेरै दिएका छन् ।

अहिलेको सत्ता गठबन्धन टिकिरहेमा देउवा वेटिङ प्राइममिनिस्टर हुन् । त्यसैले देउवाले सोचेबुझेरै कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका हुन् । देश संघीयतामा गएको सात वर्ष बितिसक्दा पनि मधेश प्रदेशमा कांग्रेस र एमालेबाट मुख्यमन्त्री बन्न सकेका छैनन् । मधेशमा पहिले जसपा, अहिले जनमत पार्टीकै हालीमुहाली छ । त्यसैले यसपटक मधेशकेन्द्रित दलको हालीमुहाली तोड्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् ।

मधेशमा २३ सिट जितेर एमाले पहिलो, २२ सिट जितेर कांग्रेस दोस्रो ठूलो दल बनेका छन् । तर जसपा र जनमतले सरकार चलाइरहेका छन् । यसपटक भने कांग्रेस र एमालेले एक–एक वर्ष आलोपालो गरी सरकार चलाउने रणनीति बनाएका छन् । मधेशमा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ४५ सिट छ । बाँकी नौ सिट लोसपा र एकीकृत समाजवादीसँग मिलेर भए पनि सरकार बनाउने तयारी अन्तिम चरणमा पुगेको नेताहरुको भनाइ छ ।

पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सभापति देउवाले यस विषयमा चाँडै सत्ता सहयात्री दलहरूसँग छलफल गरिनेसमेत बताए । ‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ,’ उनले भने ।