काठमाडौं । कानुन व्यवसायी स्वागत नेपालले राजसंस्था पुनः स्थापनाको आन्दोलन भताभुंग पारेको भन्दै बुढापाका राजावादी नेताहरूलाई चेतावनी दिएका छन् । उनले जति कोसिस गरे पनि मिलाउन नसकेको भन्दै बुढापाकालाई बाइपास गरेर युवाहरूले आन्दोलन सफल बनाएरै छाड्ने दाबीसमेत गरेका छन् ।
एक साताअघि संयुक्त जनआन्दोलन समितिले गरेको पत्रकार सम्मेलनमा हात हालाहालको स्थिति हुन थालेपछि बीचमै स्थगित भएको थियो । जसकारण दोस्रो चरणको आन्दोलनको घोषणा बीचमै स्थगित भएको थियो । राजा ल्याउने निर्णायक आन्दोलन थालेको बताइए पनि अहिले कहीँकतै पनि आन्दोलनको माहोल देखिएको छैन ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त वर्षाको मौसम सुरु भएकाले अब राजसंस्था पुनःस्थापनाको आन्दोलन नहुने बताइसकेका छन् । राप्रपा अध्यक्षले तत्काल राजावादीको आन्दोलन नहुने बताएको भोलिपल्टै स्वागत नेपालले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन् ।
‘संयुक्त जनआन्दोलन समितिमा एकजनाबाहेक सबै व्यक्ति कुनै न कुनै दल र अभियानमा संलग्न व्यक्तिहरु थिए । स्वागत नेपाल सबैभन्दा अन्तिममा प्रवक्ताको रुपमा एकजना स्वतन्त्र र कानुनको मान्छे पनि चाहिने रहेछ भनेर थपेर राखिएको मान्छे थियो । उसले सकेसम्म बुढाहरुलाई मिलाउन सम्झाउन प्रयास गर्यो, तर बुढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको वीचमा गरेर भताभुंग पारे, जनभावनालाई तुहाउन प्रयास गरे ।
तर युवाले तुहिन दिने छैन आन्दोलन सफल भएरै छोड्ने छ,’ नेपालले भनेका छन् । ८६ वर्षीय नवराज सुवेदीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले संयोजक तोेकेर आन्दोलनको जिम्मा दिए पनि अहिले उनीसँग राप्रपा अध्यक्ष लिङ्देन नै असन्तुष्ट छन् । सोही कारण बीचमै राजावादीको आन्दोलन तुहिएको हो ।
प्रतिक्रिया