भिजिट भिसाबारे छलफल गर्न रास्वपाले बोलायो दलको बैठक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको रास्वपा प्रवक्ता मनिष झाले बताए । बैठक संघीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्नेछ । शनिबार प्रतिनिधिसभा बैठकअघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो ।

सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ । रास्वपाले जेठ १३ गतेदेखि निरन्तर सदन अवरोध गर्दै आएको छ ।

एक महिनासम्म पनि आफ्नो दलको माग सुनुवाइ नभएपछि रास्वपाले नयाँ रणनीति बनाउन लागेको नेताहरुको भनाइ छ । यहीबीचमा रास्वपाले सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान र चन्दा अभियान पनि चलाएको छ ।