देउवाले गरे राजनीतिबाट रिटायर्ड हुन लागेको घोषणा


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिको रिटायर्ड हुन लागेको बताएका छन्। प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा शुक्रबार उनले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाए ।

देउवाले पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन नसकेको पनि बताए । ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ,’ देउवाले भने, ‘म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’

देउवाले अहिलेसम्म आफूले राजनीतिबाट अवकाश लिन लागेको खुला रूपमा भनेका थिएनन् । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई अभिभावक बनेर बस्न र नेतृत्व हस्तान्तरण गर्न सुझाव दिँदै आएका थिए ।

सभापति देउवाले पार्टीको १५औँ महाधिवेशन समयमै हुने दाबी पनि गरे । कांग्रेसको संस्थापन इतर शेखर कोइराला समूहले समयमै महाधिवेशन हुनेमा शंका व्यक्त गरिरहेका बेला देउवाको यस्तो प्रतिक्रिया आएको हो । ‘काँग्रेस महाधिवेशन समयमै हुन्छ । समयमा हुँदैन भन्नु झुटो कुराहरु हो,’ देउवाले भरतपुरमा सञ्चारकर्मीसँग भने ।

विधानतः आफू तेस्रो कार्यकाल सभापति हुन नपाउने भएकाले देउवा महाधिवेशन सारेर आफू अनुकूल गर्ने रणनीतिमा रहेको भन्दै कांग्रेसभित्र शंका उपशंका हुँदै आएको छ । शेखर कोइराला पक्षका नेता(कार्यकर्ताले सार्वजनिक रुपमै विरोध जनाउँदै आएका छन् । तर, यसबारे अहिलेसम्म खुलेर नबोलेका सभापति देउवालाई आज पत्रकारले सोधखोज गरेका थिए । जवाफमा उनले समयमै महाधिवेशन हुने जिकिर गरे ।