पूर्वराष्ट्रपति भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन्। एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेलगत्तै उनले सरकारी सेपवासुविधा नलिने भएकी हुन् । पूर्व राष्ट्रप्रमुखको सेवासुविधा पनि लिने अनि सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सबै सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ।

भण्डारीले शीतल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गरेकी थिइन् । बाँकी सेवासुविधा पनि फिर्ता गर्ने उनको तयारी छ । भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका स्वकीय सचिव, कार्यालय सहयोगीसमेतका लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ।

रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत छन्। पूर्व राष्ट्रप्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ। भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व राष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको, तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ।

भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन्। त्यसलगत्तै उनको निर्णयप्रति व्यापक विरोध भइरहेको छ । तर एमाले पंक्तिमा ऊर्जा थपिएको छ । मदन भण्डारीको विरासत विद्यादेवीमा फर्किन लागेको भन्दै धेरै नेता कार्यकर्ता उत्साही देखिएका छन् । अर्को पक्ष भने विरोधमा उत्रिएको छ ।