झिलीमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा १७ वर्षीय युवाको मृत्यु


काठमाडौँ – पर्साको वीरगञ्ज महानगर–१ छपकैया टोलका १७ वर्षीय पियुसकुमार साहको झिलीमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार शनिबार साँझ आफ्नै घरको छतमा बत्ती जडान गर्दै गर्दा वाइरिङको तारमा करेन्ट लाग्दा साह गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक साहको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।