तनहुँमा पहिलो वर्षमै चार सय ६८ किलो सयपत्री फूल बिक्री


काठमाडौँ – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका छन्। पोखराका व्यापारीलाई रु ३०० प्रति किलो दरमा बिक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले जानकारी दिए।

समूहले छ रोपनी क्षेत्रमा पहिलो वर्ष फूलखेती गरेको थियो। दुई ठाउँबाट क्रमशः १६८ र ३०० किलो फूल बिक्री भएको छ। पहिलो वर्षमै फूलको पूर्ण बिक्री भएपछि किसानहरू खुशी छन् र आगामी वर्ष क्षेत्रफल विस्तार गर्ने योजना बनाएका छन्।

समूहका अध्यक्ष जितमाया रानाले भने, “बजार नपाएर श्रम खेर जाने भन्ने चिन्ता थियो, तर फूल बिक्री भएपछि हामीमा हौसला आयो। अहिले फूल फलेको मात्र नभई, बजारको समस्या पनि समाधान भएको छ।”

यो वर्ष फूलखेतीका लागि छ हजारभन्दा बढी बेर्ना रोपिएको थियो। किसानहरू यसअघि काक्रा, घिरौला, बोडी, मास, करेला र खुर्सानीखेती गर्थे, तर यस वर्ष पहिलो पटक सयपत्री फूलखेतीमा सफलता पाएका छन्।