काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले गृहमन्त्री सुधन गुरुङबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विवादमा मुछिएका गृहमन्त्री गुरुङले राजीनामा गर्नुपर्ने बताए। सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा साम्पाङले गृहमन्त्री विवादमा नआउँदा राम्रो हुने प्रतिक्रिया दिए।
‘त्यो विषयवस्तु त होइन, तर प्रश्न आइहाल्यो। प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला,’ उनले थपे, ‘उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो।’ गृहमन्त्री गुरुङबारे नयाँनयाँ विवाद आइरहेकाले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने उनको भनाइ थियो।
अहिले आएको विवादको समाधान गर्न पनि राजीनामा उपयुक्त हुने उनको सुझाव थियो। ‘अब हप्तामा दुई–तीनचोटी सुनिन्छ घरी के घरी के, उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु,’ उनले भने।
पत्रकार सम्मेलनमा साम्पाङले ३३ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धतापत्रमा उनले देशलाई विदेशी हस्तक्षेपबाट मुक्त राख्न असंलग्न परराष्ट्र नीति र सीमा रक्षामा जोड दिएका छन् ।
स्थानीय स्रोतसाधनको प्रयोग गरी स्वाधीन अर्थतन्त्र र मौलिक शैलीमा भौतिक पूर्वाधारको विकास गर्ने, व्यावहारिक शिक्षामा जोड दिँदै (हप्तामा तीन दिन किताबी र चार दिन व्यावहारिक ज्ञान) प्रत्येक पालिकामा एक उद्योग र हरेक परिवारमा एक रोजगारको नीति लागू गर्ने, कृषिमा आधारित शिक्षा र उद्योगलाई प्राथमिकता दिँदै खेतबारीसम्म कृषि क्रान्ति पुऱ्याउने उल्लेख छ । यस्तै, भुटानी शरणार्थी जस्ता शरणार्थीहरुको समस्यालाई हल गर्न सक्रीय भूमिका खेल्ने र आवश्यक समन्वय र सहकार्य गरी समस्यहल गर्ने, सबै खाले विभेदको अन्त्य गरी नागरीकलाई सुशासन महशुस गराउने, भूपु गोर्खा सैनिकहरुको समान पेनशनका लागि नेपाल सरकारले आवश्यक सबै सहयोग र पहल गर्ने १ नेपाल सरकारले गरेको सन्धि अन्तर्गत गएका हुनाले भूपु गोर्खाहरुको नागरीकता यथावत राख्ने, व्यवस्था परिवर्तन तथा राजनीतिक आन्दोलनहरुका शहीद, वेपत्ता, घाइतेहरुको वास्तविक अभिलेख राखी राज्यले विशेष सेवा सुविधा प्रदान गर्ने उनको प्रतिबद्धतापत्रमा छ ।
सहकारी ठगहरुलाई कारवाही गर्ने (जीबी राईलगायतका ठगी प्रकरणमा आरोपितहरुलाई पक्रेर ल्याउने र को दोषी को निर्दोष टुंगो लगाएर दोषी उपर कारवाही गर्ने), सहकारी पिडितहरुको बचत पैसा फिर्ता गर्ने पैसा फिर्ता गर्दा राज्य कोषबाट नभई ठगहरुकै जायजेथा लिलाम गरी पैसा फिर्ता दिने जनाएका छन् ।













प्रतिक्रिया