संविधानको मर्मविपरीत हुने गतिविधिलाई परिवर्तन वा क्रान्तिका रूपमा व्याख्या गर्न नमिल्ने सपना प्रधान मल्ल


सपना प्रधान मल्ल ले संविधानको मर्मविपरीत हुने गतिविधिलाई परिवर्तन वा क्रान्तिका रूपमा व्याख्या गर्न नमिल्ने बताएकी छन्।

कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तामाथि विभिन्न प्रकारका चुनौती उत्पन्न भइरहेका छन् कि भन्ने चिन्ता व्यक्त गरिन्। संविधान केवल कानुनी दस्ताबेज मात्र नभई नागरिकको जीवन पद्धति बन्नुपर्ने उनको भनाइ थियो।

उनले संविधान उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन सुदृढ हुन नसक्ने उल्लेख गरिन्। साथै, नेपाल प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनलाई स्मरण गर्दै आधुनिक न्याय प्रणालीको जग यही ऐनले निर्माण गरेको बताइन्।

उनले भनिन्, “संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन। संविधानलाई विरूप पारेर सञ्चालकहरूको रूप सिँगार्न खोज्नु विडम्बनापूर्ण हुन्छ।”