एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण


राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो ।

यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा भने केहीबेरपछि मात्र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यस वर्ष उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गरिएको हो ।

यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फारम भरेका थिए । जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए ।

त्यस्तै, परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य विद्यार्थी सहभागी भएका थिए ।