काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गर्नुभएको हो ।
नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाही लाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै, उपभोक्ताको तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त हुनुभएको छ ।
प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फ प्रतिनिधित्व दलित समुदायको सहभागिता सम्भवतः पहिलोपटक भएको छ ।
त्यस्तै नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो ।
दीर्घायू कुमार श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गर्नुभएको थियो ।
काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ । प्राधिकरणले ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारलगायतका कामलाई निरन्तरता दिने अपेक्षासहित श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।
















प्रतिक्रिया