प्रधानमन्त्री कार्यालयको नाम लिएर सरकारी कर्मचारी धम्काउने खड्का पक्राउ


काठमाडौं l प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरेर दैलेखका एक वडासचिवलाई धम्की दिएको आरोपमा २२ वर्षीय प्रकाश खड्का पक्राउ परेका छन्।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर–६ घर भएका र हाल काठमाडौंको शंखमुलमा बस्दै आएका खड्कालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापा ले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

खड्काले आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोनमार्फत अशिष्ट र अमर्यादित भाषामा धम्की दिएको अडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि उक्त विषयलाई गम्भीर रूपमा लिँदै खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिएको बताइएको छ।