काठमाडौं l प्रतिनिधिसभा बैठकमा विपक्षी दलका माननीय सांसदहरूले संसद बैठकमा उठाइएका विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका छन्। उनीहरूले सरकारको नेतृत्व गर्ने व्यक्तिले संसदप्रति प्रत्यक्ष रूपमा जवाफदेही हुनुपर्ने भन्दै प्रधानमन्त्रीको उपस्थितिको माग गरेका हुन्।
प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले आफ्नो माग राख्दै विरोध जनाएका थिए। संसदमा उठेका गम्भीर विषयमा सम्बन्धित मन्त्रीको मात्र नभई प्रधानमन्त्रीकै स्पष्ट धारणा आवश्यक रहेको उनीहरूको भनाइ छ। विपक्षी दलको निरन्तर विरोधका कारण बैठकको कार्यसूची प्रभावित बनेको थियो।
सदनमा उत्पन्न अवरोध र दलहरूबीच सहमतिको प्रयासका लागि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए। तर स्थगन गरिएको समय सकिएको करिब एक घण्टा बितिसक्दा पनि बैठक अझै सञ्चालन हुन सकेको छैन। यसबीच सत्ता पक्ष र विपक्षी दलबीच जारी छलफलबाट सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ।
संसद बैठक पुनः कहिले बस्ने वा अवरोध अन्त्य हुनेबारे हालसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। सदनको अवरोध जारी रहँदा आजको बैठकका कार्यसूचीसमेत प्रभावित हुने देखिएको छ।
















प्रतिक्रिया