जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस


काठमाडौं l राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनासम्बन्धी अनुसन्धानका क्रममा न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस गरेको छ ।

सरकारले गठन गरेको उक्त न्यायिक छानबिन आयोगका अध्यक्ष कार्कीको भूमिकाबारे पनि अनुसन्धान आवश्यक रहेको भन्दै आयोगले सरकारलाई सिफारिस गरेको हो ।

आयोगका अनुसार भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय तथा भौतिक क्षति, त्यसमा उनको संलग्नता, साथै उनको अभिव्यक्तिबाट प्रदर्शनकारी आक्रोशित र उत्तेजित भई कुनै प्रभाव परेको/नपरेको विषयमा समेत छानबिन गर्नुपर्ने देखिएको छ ।

प्रतिवेदनमा सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने कार्यमा उनीलगायत व्यक्तिहरूको भूमिका रहेको/नरहेको वा दुरुत्साहन भएको/नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख छ । दोषी देखिए कानुन बमोजिम कारबाही गर्नुपर्ने पनि आयोगको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा कार्कीले सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । सोही पृष्ठभूमिमा सरकारले उनलाई नै छानबिन आयोगको अध्यक्ष बनाएको थियो ।

उक्त आयोगले २३ भदौको घटनाको मात्रै छानबिन गरी प्रतिवेदन बुझाएको थियो, जसलाई अपूरो र पक्षपाती भएको भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएका छन् ।