मुस्लिम समुदायले आज बकर इद मनाउँदै


काठमाडौं l मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाइने यस पर्वका अवसरमा देशभरका मस्जिद तथा इदगाहमा बिहानैदेखि नमाज अदा गर्ने श्रद्धालुको भीड लागेको छ ।

मुस्लिम समुदायले बिहान स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज पढ्ने परम्परा रहेको छ । नमाजपछि एकापसमा शुभकामना आदानप्रदान गरिन्छ । काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा विशेष प्रार्थना गरिएको छ ।

मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अली का अनुसार हिजरी संवत्अनुसार १४३९ वर्षअघि अल्लाहको आदेशमा इब्राहिम आफ्ना छोरा इस्माइल लाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।

मुस्लिम धर्मगुरु रहमत अली ले बकर इद पर्वलाई इस्लाम धर्मको त्याग, समर्पण र विश्वासको प्रतीकका रूपमा लिइने बताए । धार्मिक मान्यताअनुसार अल्लाहले इब्राहिमको विश्वासको परीक्षा लिन छोरा इस्माइललाई कुर्बानी दिन आदेश दिएका थिए । तर अन्तिम समयमा अल्लाह प्रसन्न भई इस्माइलको सट्टा जन्नतबाट पठाइएको दुम्बाको बलि भएको विश्वास गरिन्छ ।

यही घटनाको स्मरणमा मुस्लिम धर्मावलम्बीले आजका दिन अल्लाहलाई खुसी पार्न जायज मानिएका जनावरको कुर्बानी दिने गर्छन् । परम्पराअनुसार कुर्बानीको मासु तीन भागमा बाँडिन्छ । एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्नै परिवारले प्रयोग गर्ने धार्मिक मान्यता छ ।

बकर इदको मुख्य धार्मिक उद्देश्य हज यात्रा मानिन्छ । मक्का–मदिना पुग्न नसकेका श्रद्धालुले पनि घरघरमै पर्व मनाउने परम्परा रहेको छ । मुस्लिम समुदायले शनिबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । नेपाली जामे मस्जिदका अनुसार तीनै दिन कुर्बानी दिनुपर्ने धार्मिक विधि रहेको छ ।

पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।