जेनजी आन्दोलन हिंसात्मक बन्नुमा आयोजकको कमजोरी : सुदन गुरुङ र पुरुषोत्तम यादवमाथि थप अनुसन्धान सिफारिस


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा आयोजक पक्षको गम्भीर कमजोरी रहेको निष्कर्ष निकाल्दै सुदन गुरुङ र पुरुषोत्तम यादव माथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

बुधबार सार्वजनिक गरिएको विस्तृत अनुसन्धान प्रतिवेदनमा आयोगले आन्दोलनको नेतृत्व तथा व्यवस्थापन पक्ष कमजोर हुँदा प्रदर्शन नियन्त्रणबाहिर गएको उल्लेख गरेको छ। आयोगका अनुसार आन्दोलन सुरुमा शान्तिपूर्ण भनिए पनि पछि विभिन्न स्थानमा तोडफोड, आगजनी र हिंसात्मक गतिविधि भएको थियो।

प्रतिवेदनमा ‘हामी नेपाल’ संस्थाका अध्यक्षसमेत रहेका सुदन गुरुङले शान्तिपूर्ण प्रदर्शन गर्ने प्रतिबद्धतासहित प्रशासनबाट अनुमति लिएको उल्लेख छ। तर, प्रदर्शन हिंसात्मक बनेपछि त्यसलाई नियन्त्रण गर्न आवश्यक समन्वय, संयमता र जिम्मेवारी निर्वाह गर्न नसकेको आयोगको ठहर छ।

आयोगले आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी संरचनामा क्षति पुगेको, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको तथा सर्वसाधारणसमेत प्रभावित भएको उल्लेख गरेको छ। यस्ता गतिविधिले नागरिकको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शनको अधिकारमाथि असर पुगेको आयोगको निष्कर्ष छ।

प्रतिवेदनमा आन्दोलन आयोजक, राजनीतिक नेतृत्व र सम्बन्धित निकायको भूमिकामाथि निष्पक्ष अनुसन्धान गर्न सरकारलाई आग्रह गरिएको छ। साथै, यस्ता प्रदर्शन भविष्यमा हिंसात्मक बन्न नदिन स्पष्ट कार्यविधि, जवाफदेहिता र समन्वय प्रणाली बलियो बनाउन पनि आयोगले सुझाव दिएको छ।