गणतन्त्र दिवसको मूल समारोह चलिरहँदा भुइमै ढले सैनिक जवान


काठमाडौं l १९औँ गणतन्त्र दिवस २०८३ को अवसरमा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहका क्रममा ड्युटीमा खटिएका एक सैनिक जवान अचानक भुइँमा लडेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम चलिरहेकै बेला ती जवान ढलेका हुन् ।

जवान लड्नेबित्तिकै त्यहाँ खटिएका सुरक्षाकर्मी तथा सहयोगीहरूले तत्काल उद्धार गरेका थिए । उनी सहयोगीहरूको सहारामा आफैँ हिँडेर सैनिक मञ्च परिसरभित्र रहेको उपचारस्थलसम्म पुगेका थिए ।

नेपाली सेनाका अनुसार लामो समयसम्म एउटै स्थानमा एकै पोजिसनमा उभिँदा शारीरिक असहजता उत्पन्न भएपछि जवान लडेका हुन् । सेनाले उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाएको छ ।