एमाले सदस्यता नवीकरण तथा अभिप्रेरणा राष्ट्रिय कार्यशाला जेठ २०–२१ गते काठमाडौंमा


काठमाडौं l नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणा सम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शङ्कर पोखरेल को आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। कार्यशालामा पार्टीका प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसम्पर्क तथा जनसङ्गठनका केन्द्रीय इन्चार्ज र अध्यक्ष, साथै जनसङ्गठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहनेछ।

पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल का अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ। सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित उक्त कार्यशाला आयोजना गर्न लागिएको हो।

जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने कार्यशालामा डिजिटल सदस्यता प्रणालीको प्रयोग, सदस्यता नवीकरण प्रक्रिया तथा संगठनात्मक सुदृढीकरणका विषयमा प्रशिक्षण र अभिमुखीकरण प्रदान गरिनेछ।

यस कार्यशालामार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा आधुनिक प्रविधिसँग आबद्ध बनाउने अपेक्षा पार्टीले गरेको छ।