थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुलसा अधिकारी नेपाल ल्याईयो


काठमाडौं l सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। इन्टरपोलको सहयोगमा पक्राउ परेकी अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

अधिकारीविरुद्ध ठगी, आपराधिक लाभ (हनी ट्र्याप) तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा दर्ता भइसकेको छ। उनीमाथि ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ।

प्रहरीका अनुसार ललितपुरका एक व्यवसायीले आफूलाई हनी ट्र्यापमा पारेर ठूलो रकम असुलेको भन्दै जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। त्यसक्रममा अधिकारी विदेश फरार भएपछि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।

अनुसन्धानका क्रममा ठूलो परिमाणमा आर्थिक कारोबार भएको देखिएपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। हाल उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ भने अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने जनाइएको छ।