प्रतिनिधिसभा बैठक आज बस्दै यस्तो छ कार्यतालिका


काठमाडौं l संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुली ले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिवेदनमाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू पनि निर्णायार्थ प्रस्तुत गरिनेछन्।

त्यसपछि सभापति पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्ने कार्यक्रम छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। अनुमति प्राप्त भएपछि उक्त विधेयक संसद्मा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ।

त्यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव ले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ संसद्मा पेश गर्नेछन्।

आजको बैठकमा नियमावली पारित गर्ने, राष्ट्र बैंकसम्बन्धी संशोधन विधेयक अघि बढाउने तथा श्रम क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय महासन्धि र प्रोटोकल संसद्मा प्रस्तुत गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहेका छन्।