काठमाडौं l स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले सुर्तीजन्य पदार्थको सेवन त्याग्न सबैलाई आग्रह गरेकी छन्।
‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज सन्देश जारी गर्दै मन्त्री मेहताले सुर्तीजन्य पदार्थ प्रयोगकर्तालाई आजैबाट कुलत त्याग्ने सङ्कल्प गर्न आग्रह गरिन्। उनले सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन भए पनि दृढ इच्छाशक्ति, परिवारको साथ र स्वास्थ्यकर्मीको उचित परामर्शबाट यसलाई छोड्न सम्भव हुने बताइन्।
मन्त्री मेहताले भेप, हुक्का तथा इ–सिगरेटजस्ता आधुनिक देखिने उत्पादनमा पनि हानिकारक निकोटिन र विषाक्त तत्व हुने भएकाले भ्रममा नपर्न आग्रह गरिन्। यस्ता पदार्थको प्रयोग र प्रलोभनबाट टाढा रहन तथा लतबाट मुक्त हुन चाहनेलाई मन्त्रालयले परामर्श र सहयोग उपलब्ध गराउने उनले उल्लेख गरिन्।
उनका अनुसार नेपालमा करिब २९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गरिरहेका छन् भने हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु यसको सेवनका कारण हुने गरेको छ। उनले यस अवस्थालाई गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा चित्रण गरिन्।
मन्त्री मेहताले किशोर–किशोरीलाई लक्षित गर्दै विभिन्न स्वाद र आकर्षक स्वरूपमा बजारमा ल्याइने निकोटिनयुक्त उत्पादन तथा सामाजिक सञ्जालमार्फत गरिने भ्रमपूर्ण प्रचारप्रसारप्रति पनि चिन्ता व्यक्त गरिन्। उनले मानव स्वास्थ्यलाई प्राथमिकता दिँदै सुर्तीजन्य पदार्थको उपभोग निरुत्साहित गर्न सबै पक्षलाई आह्वान गरिन्।
नेपालमा यस वर्ष “सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ; कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदैछ।
















प्रतिक्रिया