बजेट महत्त्वाकांक्षी होइन, जीडीपीको २८.५ प्रतिशत मात्र : अर्थमन्त्री वाग्लेको दाबी


काठमाडौं l अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई महत्त्वाकांक्षी नभई तुलनात्मक रूपमा सन्तुलित र सीमित आकारको बजेट भएको बताएका छन्।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकारलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा हेर्नुपर्ने बताउँदै यस वर्षको बजेट प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँको करिब २८.५ प्रतिशत मात्र रहेको बताए।

उनका अनुसार विगतमा बजेटको आकार जीडीपीको ३७ प्रतिशतसम्म पुगेको थियो भने भूकम्पपछिका वर्षहरूमा पनि ३० प्रतिशतभन्दा माथि रहने गरेको थियो। यसपटक भने त्यो प्रवृत्ति तोडिएको उनको भनाइ छ।

“बजेट धेरै ठूलो आयो भन्ने चर्चा भइरहेको छ, तर वास्तविकता त्यस्तो होइन। प्रक्षेपित जीडीपीको तुलनामा यो बजेट सानो आकारको हो,” मन्त्री वाग्लेले भने।

उनले मुलुकको सार्वजनिक ऋण हाल जीडीपीको करिब ४३ प्रतिशत हाराहारी रहेको जानकारी दिँदै आगामी आर्थिक वर्षका लागि ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण र २ खर्ब ४७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखिएको बताए।

अर्थमन्त्रीका अनुसार बजेटको आकारभन्दा पनि यसको प्रभावकारी कार्यान्वयन, राजस्व परिचालन र आर्थिक वृद्धिलाई प्राथमिकतामा राखिएको छ।